Share

सेयर बजारमा कतिखेर भागदौड मच्चिन्छ थाहा हुँदैन । जत्तिखेर सेयर बजारमा लगानी गरिरहेकाहरु तछाड मछाड गर्दै भाग्न थाल्छन्, त्यही बेला तपाइँ चाँही सेयर बजारमा छिर्ने तयारी गर्नुहोस् ।

सेयर बजारमा घटाई सुरु हुँदा नाफामा रहेकाहरुले त सेयर बेचेर बाहिर निस्कन्छन् नै, घाटामै रहेकाहरुले पनि थप घाटा खानु पर्ला भन्ने डरले सेयर बेचेर भाग्छन् । घटाईको मारले गर्दा बुझेका र पहिलेदेखि नै लगानी गरिरहेकाहरु पनि भाग्दा सबैभन्दा बढी आँत्तिने भनेका नयाँ र अरुको लहै लहैमा लगानी गरेकाहरु हुन् ।

यस्तो बेलामा सेयरका ब्यापारीहरु घाटा कम गर्ने भन्दै घाटा खाएर सेयर बेच्छन् भने उनीहरुको यो सुत्रको अनुशरण गर्ने साधारण लगानीकर्ताहरु पनि थुप्रै हुन्छन् । खासगरी कम्पनीको अवस्था र उसले दिने लाभांश हेरेर हैन, सेयर बजार सूचक र सेयरको मूल्य कति बढ्ला भनेर सेयर किन्नेहरु सेयर बजार घट्दै जाँदा सेयर बेच्न दौडिन्छन् । त्यसले सेयर बजारमा बिक्रीको चाप झन् ल्याईदिन्छ । किन्ने भन्दा धेरै बेच्ने भएपछि जत्तिमा पाए पनि सेयर बेच्ने (फ्रि फल) को अबस्था ल्याईदिन्छ । सर्बत्र बिक्रीको मनोबिज्ञान तयार पार्छ ।

सेयर बजारका अधिकांश लगानीकर्ताको मनोबिज्ञान यस्तो बनेको हुन्छ कि सेयर बजार घट्दै गएको बेलामा सेयर किन्ने हो भने झन् घाटा हुन्छ । जत्ति बजार घट्यो, त्यत्ति घाटा होला भन्दै सेयर बेच्नेहरुको ओईरो लाग्छ र बजारलाई तल्लो बिन्दुसम्म ल्याईदिन्छ । सेयर किन्न बसेकाहरु पनि हच्किन्छन् र अरु तल जाला भन्दै पर्खेर बस्छन् । उनीहरु सबैभन्दा तल्लो बिन्दुको पर्खाईमा हुन्छन् तर तल्लो बिन्दु कुन हो कसैलाई थाहा हुँदैन । पर्खदा पर्खदै सेयर बजार उकालो लाग्न थाल्छ र तल्लो बिन्दुमा सेयर किन्न मौका हेरिरहेकाहरु चुक्छन् ।

सेयर बजार जब माथि चढेर जान्छ, जत्ति माथि जान्छ, त्यत्ति धेरै उचालिएर सेयर किन्न आउनेहरु बढ्छन् । तल गएपछि माथि जानु र माथि गएपछि तल झर्नु सेयर बजारको नियमै हो तर कतिपयले बुझ्दैनन । माग र आपुर्ति, नाफा सुरक्षित गर्ने प्रबृत्ति, बजारको संस्थागत तथा प्रविधिगत सुधार, अर्थतन्त्रको बृद्धि, हल्ला, लगानीकर्ताको मनोबल लगायत धेरै कुराले यसमा प्रभाव पार्छ ।

नेपालको सेयर बजारको अबस्था कस्तो छ भने सेयर तल झरेर आतंक सिर्जना हुँदा सेयर किन्नेहरुको संख्या न्युन हुन्छ, जब सेयर बजार माथि जान थाल्छ, एकैचोटी माथि पुगेर मात्रै सेयर किन्न पाईने अबस्था हुन्छ । बढ्न थालेपछि सर्किटका सर्किट लाग्ने गरेको छ । अहिले अधिक आपुर्ति र तरलता अभावले यो अबस्था तत्काल आई नहाल्ला कि भन्न सकिन्छ तर दुबै कुरामा सुधार हुने बित्तिकै देखिने पुरानै प्रबृत्ति हो ।

सेयर बजारको सामान्य सुत्र, बजार तल गईरहेको बेला छानी छानी राम्रा कम्पनीका सस्ता सेयर किन्ने नै हो ।

सेयर बजारबाट धेरै लगानीकर्ताहरु भागेर बजार तल्लो बिन्दुतर्फ आईरहेको बेला १० देखि १५ वटा राम्रा कम्पनीहरु छानेर अनि अलि सेयर किन्ने सुत्र नै नयाँ तथा लगानी क्षमता भएकाहरुका लागि सही सुत्र हो ।

अरु भागिरहेको बेला बजार छिर्नलाई नयाँ लगानीकर्तालाई त्यही किसिमको शिक्षा र हिम्मतको जरुरत पर्छ ।

साहस नभएका मान्छेहरु यस्तो बेलामा बजार प्रबेश गर्न डराउँछन् तर जसले उचित शिक्षा लिएर लगानीको योजना बनाई साहसका साथ सेयर बजार छिर्छन, उनीहरुले नै भबिष्यमा कमाउँछन् । नेप्से कहाँबाटकहाँ पुला, सेयरको भाउ कति बढ्ला भनेर हैन, कम्पनीको आधारभुत अबस्था कस्तो छ र उसले आगामी दिनमा कति लाभांश दिन्छ भन्ने हिसाब गरी दीर्घकालीन लगानी गर्नेहरु कहिल्यै पछि पर्दैनन् ।

सेयर बजार घट्दै गर्दा एकै पटक एउटै कम्पनीको धेरै कित्ता सेयर किन्नु खराब प्रबृत्ति हो । कम्तिमा १० देखि १५ वटा कम्पनीको सूरुमा १० – १० कित्ताका दरले सेयर किन्न थाल्नुपर्छ र सेयर बजार तीब्र रुपमा घट्दै जाँदा खरिद गर्ने सेयर संख्या बजार घटेकै अनुपातमा बढाउनु पर्छ ।

कहिलेकाँही सेयर बजार महिनौ दिनसम्म पनि घट्नसक्छ । यसरी सेयर बजार घटिरहँदा आफुसँग भएको पैसा सकियो भने चिन्ता नगरी रोकिनुपर्छ र बजार नबढ्दासम्म धैर्य गर्नुपर्छ । तर आफसँग भएको सबै पैसाको सेयर किनेर सक्याउनु पनि हुन्न किनभने सेयर बजारमा सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने अबसर जहिले पनि आउँछ ।

जब सेयर बजार बढ्न थाल्छ तब आफुले सस्तोमा किनेका सेयरहरुको मूल्य जोखिरहनुपर्छ । आफुले सबैभन्दा सस्तोमा किनेको सेयरको मूल्य ३० प्रतिशतले माथि गयो भने भने बेच्दा पनि हुन्छ र आफसँग जोखिमबहन क्षमता उच्च भएको अबस्थामा बर्षौसम्म सेयर नबेची लाभांश मात्रै खाएर बस्दा पनि झन् धेरै फाईदा हुन्छ ।

कस्ता सेयर किन्ने भन्ने बारेमा अनेक मापदण्डहरु छन् ।

खासगरी कम्पनीको पूँजी र कारोबारको आकार बढ्दै गएको, अघिल्ला तीन आर्थिक बर्षहरुमा खुद नाफा क्रमशः १५, ३० र ४५ डिग्री कोण आकारमा बढाउँदै लगेको, लाभांशको दर १०, २० र ३० डिग्री कोण आकारमा बृद्धि गर्दै गएको, जगेडा कोष बलियो रहेको कम्पनी छान्दा धेरै सुरक्षित भईन्छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ माथि र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेको कम्पनी सुरक्षित हुनसक्छन् । यसका साथै कम्पनीको संस्थागत सुशासन, कारोबारमा लिएको जोखिम र त्यसको ब्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छन् ।

सेयर बजार तल आउँदा बिगतमा लाभांश नदिएका र अर्को बर्ष पनि लाभांश दिन नसक्ने कम्पनीहरुको सेयर मूल्य जत्ति सस्ता भए पनि किन्नु हुन्न । यस्ता कम्पनीहरु दुब्लाएका सेता हात्तीहरु हुन्, घास र दाना जत्ति खुवाए पनि यस्ता कम्पनीहरुले सेयरधनीहरुलाई धेरै लाभ दिनसक्दैनन् बरु कतिपय अबस्थामा झन् गरीब बनाउँछन् ।

नेपालको सेयर बजारमा कम्पनीहरुको छनोट गर्दा पाँच वटा बाणिज्य बैंक, पाँच वटा बीमा र अन्य पाँच वटाको दरले लगानी विविधिकरण गर्नु सुरक्षित हुने एउटा उपाय हो । एउटै कम्पनी, त्यसमा पनि खराब छान्नु भयो भने सिधै डुब्ने संभावना हुन्छ ।

प्राविधिक बिश्लेषकको भर परेर लगानी गर्नुभयो भने पनि धेरै जोखिम छ ।

कम्पनीहरुको अबस्था विश्लेषण गर्ने क्षमता छैन भने तपाइँ सेयर बजारमा छिर्दै नछिर्नुहोस् । आप खानु सजिलो काम हो तर रुखको आँप झर्ने क्षमता पनि तपाइँमा चाहिन्छ ।

लगानीसम्बन्धी निर्णय गर्दा आफ्नै अध्ययन, बिश्लेषण र जोखिमबहन क्षमता अनुसार गर्नुपर्छ । हल्ला, अफवाह र लहै लहैमा लगानी गर्दा डुविने संभावना जहिले पनि हुन्छ । सेयर बजारमा हल्ला गर्न र गराउँन विभिन्न संयन्त्र र समूहहरु परिचालन गरिएका हुन्छन् भन्ने कुरा याद राख्नुहोस् । मलाई फलानो कम्पनी मन पर्छ भन्ने मनोगत आधारमा सेयरमा कहिल्यै लगानी नगर्नुहोस, तपाइँलाई नाम राम्रो लागेको वा मन परेको कम्पनीको बित्तीय अबस्था खराब पनि हुनसक्छ ।

याद राख्नुपर्ने अर्को सबैभन्दा ठूलो कुरा, सेयर बजार जोखिमको क्षेत्र हो र धेरै थोरै जोखिम जसले पनि लिनुपर्छ ।

Comments